पाल्पा, रामपुर नगरपालिका–९ मधुकोट पाल्पाका आगोलागी पिडित परिवारको लागि नेपाल मगर महिला संघ केन्द्रिय समिति, नेपाल मगर संघ तथा नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति पाल्पाले राहत प्रदान गरेको छ । गत बैशाख २६ गते भएको आगोलागी बाट घर नष्ट भएपछि पछि छिमेकी र नजिकैको विद्यालयमा आश्रय लिदै आएका ५ घर परिवारलाई राहत प्रदान गरेको हो ।
मंगलबार पिडित परिवारलाई भेटेर नेपाल मगर महिला संघ केन्द्रिय समिति, नेपाल मगर संघ तथा नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति पाल्पाले राहत वितरण गरेको हो । त्रिपाल, भाँडा, लत्ताकपडा, खाद्यान्न र औषधी प्रदान गरेको थियो । नेपाल मगर महिला संघ केन्द्रिय समितिका अध्यक्ष हिरु राना मगरले विपत्त बाट पिडित बनेका परिवारलाई सान्त्वना प्रदानका लागि केन्द्रिय कार्यसमितिका पदाधिकारी सहित उपस्थित भएको बताउनुभयो । पिडित परिवारलाई सान्त्वना दिदै रानाले भन्नुभयो, “विपद् आईलाग्यो, नआत्तिनुहोला । स्वास्थ्यमा ख्याल गर्नुहोला । सुख, दुःखमा साथ हामी संगै विभिन्न संघ, संस्थाहरु छन् ।” रानाले गृहजिल्ला पाल्पाको खबर प्राप्त भए संगै वडा कार्यालय संग सहकार्य गरेर उपस्थित भएको बताउनुभयो । रानाले आगो निभाउने क्रममा घाईतेहरुको पनि शिघ्रस्वास्थ्य लाभको कामना गर्नुभयो ।
नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेंडी थापा मगरले पिडित परिवारको लागि आवश्यक थप सहयोगको लागि पनि पहल गर्ने बताउनुभयो । आगोलागी पिडित परिवारको पिडामा साथ दिन राहत सामाग्री सहित मगर महिला संघका केन्द्रिय पदाधिकारी, जिल्लाका पदाधिकारी, नेपाल मगर संघका प्रदेशका पदाधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारी सरोकारवालाहरुको उपस्थितिमा मधुकोट पुगेको थियो । मगर महिला संघ केन्द्रिय कार्यसमितिले त्रिपाल, भाँडा, लत्ताकपडा, खाद्यान्न, सेनेटरी प्याड सहित प्राथमिक उपचारका सामाग्री बक्स रामपुर नगरपालिकाका वडा अध्यक्ष डिल बहादुर राना मार्फत हस्तान्तरण गरेको थियो । नेपाल मगर संघ, नेपाल मगर महिला संघ पाल्पाले खाद्यान्न तथा लत्तापकपडा नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेंडी र नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष थानी माया सोमै मार्फत हस्तान्तरण गरेको थियो ।

पिडित परिवारको लागि सहयोग गर्ने संघ संस्थालाई धन्यवाद दिदै रामपुर नगरपालिका–९ का वडा अध्यक्ष डिल बहादुर रानाले एक द्वार प्रणाली बाट रहत संकलन भैरहेको जानकारी दिनुभयो । आगोलागीले ५ परिवार बस्दै आएको दल बहादुर साठीघरे, ऐतुराम साठीघरे, खेम बहादुर साठीघरे र लोक बहादुर साठीघरेको घर जलेर नष्ट भएको थियो । जंगल बाट आएको आगो बस्तीमा पसेपछि घर संगै अन्न, लत्ताकपडा, नगद तथा गरगहना सहित ६८ लाख भन्दा बढीको क्षति भएको थियो । आगो बाट १ वटा बंगुर र ७ वटा बाख्राको पाठापाठी जलेको छ । आगो निभाउने क्रममा दल बहादुर साठीघरे र उहाँको बुहारी लक्ष्मी साठीघरे घाईते हुनु भएको थियो । घाईतेहरुको रामपुर अस्पतालमा उपचार भैरहेको छ ।



