
पाल्पा, जेठ ९
मगर महिलाहरुका लागी पाल्पाको तानसेनमा संचालन भएको ५ दिने संस्थागत विकास तथा प्रस्ताव लेखन तालिम सम्पन्न भएको छ । नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना तथा महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था टेवा नेपालको सहयोगमा शनिवार देखि शुरु तालिम बुधबार सम्पन्न भएको हो ।

५५ बढीको सहभागीता रहेको तालिममा डाक्टर बिष्णु सिंजाली र बरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागीहरुले संस्थाको महत्व, विकास, विस्तार र एकताको बारेमा गहन छलफल पछि सामुहिक नेतृत्वका बारेमा राम्रो जानकारी पाएको जनाएका छन् । स्थानीय सरकारका साथै सरकारी र गैरसरकारी संघ संस्था संगको सहकार्य, सहयोग र आपसी सहमतिका साथमा अघि बढ्ने उपाएका बारेमा ज्ञान पाएको भन्दै प्रस्ताव लेखन सिपको बारेमा समेत तालिममा ब्यवहारिक पक्षका अनुभव लिएको सहभागीको भनाई छ ।

तालिम सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै नेपाल मगर महिला संघकी केन्द्रिय अध्यक्ष हिरु रानाले सहयोगी संस्था टेवा नेपाल, मगर संघ र मगर महिला संघ, पाल्पालाई धन्यवाद दिनुभयो । तालिम समापन कार्यक्रममा तानसेन नगरपालिका र उपमेयर प्रतिक्षा सिंजाली, मगर संघ र मगर महिला संघ, पाल्पा लगाएतलाई कदरपत्रले समेत सम्मान गरिएको थियो ।

तालिममा मगर महिला संघको केन्द्रिय नेतृत्व, मगर सांस्कृति संघ, मगर लेखक संघ, मगर महिला संघ लगाएतमा आवद्ध महिला दिदिबैनीहरुको सहभागीता थियो ।



