काठमाडौं, असार १७, २०८२ – नेपाल मगर महिला संघ केन्द्रीय समितिको आयोजनामा आदिवासी जनजाति मगर भाषा र संस्कृतिको उत्थान तथा संरक्षणका लागि ८ दिने प्रशिक्षण कार्यक्रम आजबाट टोखा नगरपालिका, काठमाडौंमा सुरु भएको छ। असार १५ देखि असार २२, २०८२ (जुन २९ देखि जुलाई ६, २०२५) सम्म सञ्चालन हुने यो कार्यक्रम टोखा नगरपालिका वडा नं. ७ को सहयोगमा र सेरोफेरो लाङ्घाली मगर समाज, टोखा तथा मगर उत्थान समाज, गोंगबुको सह-आयोजनामा आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विशिष्ट अतिथिहरूमा वडा नं. ७ का अध्यक्ष नरोत्तम राना मगर, वडा नं. ६ का अध्यक्ष शान्ता पौडेल, नेपाल मगर संघका सह-अध्यक्ष गंगा बहादुर थापा, नगर कार्यपालिका सदस्यहरू, नगर सदस्यहरू, नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुन, भेजा समाजका कार्यवाहक अध्यक्ष खिम थापा र नेपाल मगर महिला संघ काठमाडौं जिल्ला अध्यक्ष मन्जु थापा उपस्थित थिए।

यो कार्यक्रमले मगर समुदायको भाषिक र सांस्कृतिक सम्पदालाई कार्यशाला, प्रशिक्षण र अन्तरक्रियात्मक गतिविधिहरू मार्फत सुदृढ गर्ने लक्ष्य राखेको छ। आयोजकले उपस्थित सम्पूर्ण टोखा नगरवासी, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागिता र समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन्। नेपाल मगर महिला संघले मगर भाषा र संस्कृतिको उत्थानका लागि यो कार्यक्रममा सक्रिय सहभागिताको लागि समुदायलाई अनुरोध गरेको छ।