चितवन, असार १७, २०८२ – नेपाल मगर महिला संघ जिल्ला समिति चितवनको पाँचौं जिल्ला अधिवेशन जिल्ला भवनमा रूकु राना मगरको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनले रामकुमारी थापा मगरको नेतृत्वमा ६ पदाधिकारी र २३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ।

अधिवेशनमा मगर समुदायको भाषा, संस्कृति र सामाजिक सशक्तीकरणका लागि विभिन्न महत्वपूर्ण छलफल र निर्णयहरू भएका थिए। नव निर्वाचित कार्यसमितिले आगामी दिनमा मगर महिलाहरूको हकहित र समुदायको उत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल मगर महिला संघ केन्द्रीय समितिकी अध्यक्ष हिरु राना मगरले नव निर्वाचित अध्यक्ष रामकुमारी थापा मगर लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। साथै, उनले अधिवेशनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक समितिका अध्यक्ष रूकु राना मगर र सम्पूर्ण टिमप्रति हृदयदेखि आभार प्रकट गरिन्।

कार्यक्रममा उपस्थित अतिथिहरू, स्थानीय समुदाय, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिताले अधिवेशनलाई थप भव्य बनाएको थियो। आयोजक समितिप्रति न्यानो माया र सम्मान व्यक्त गर्दै केन्द्रीय समितिले आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको छ।
